कोरोना महामारीका कारण मुलुकको समग्र अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर संकटमा रहेका वेला अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा भने हरियाली छाएको छ । लकडाउनका वेला बन्द रहेको सेयर बजार खुलेपछिका दुई महिनामा सेयर बजार ३ सय ३२ अंकले बढेको छ । १५ असारमा ११ सय ७८ अंकमा रहेको नेप्से बिहीबार १५ सय १० बिन्दुमा पुगेको छ । नेप्से सूचकमा मात्रै होइन, दैनिक कारोबार रकम पनि पाँच महिनायताकै उच्च ४ अर्ब १८ करोड रुपैयाँ भएको छ ।
मुलुकको आर्थिक वृद्धि ऐतिहासिक रूपमा कमजोर हुँदै माइनसमा जाने सम्भावना छ । ६ महिनादेखि लगातार आर्थिक गतिविधिमा अवरोध हुँदा कृषिबाहेककै क्षेत्रबाट २५ देखि ३५ लाख नेपालीले रोजगारी गुमाइसकेको अनुमान छ । त्यति मात्रै होइन, सेयर बजारमा सूचीकृत कम्पनीहरूको नाफाको दर पनि तीव्र रूपमा घटेको छ । बैंकहरूले बाँड्ने प्रतिफल दर १८ प्रतिशतबाट १२ प्रतिशतमा झरेको छ । समग्र अर्थतन्त्र मात्रै होइन, सेयरमै लगानी गर्दा प्राप्त हुने प्रतिफल घट्दासमेत बजार गुल्जार भइरहनु भने आश्चर्यको विषय हो ।
बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तर लगानीको अन्य क्षेत्र खुम्चिएका कारण सेयर बजारमा सकारात्मक प्रभाव परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘तरलताकै कारण सेयर बजार छ, तर यसमै मात्रै आधारित भएर बजार बढ्नु ठीक हो वा होइन, मेरो बुझाइभन्दा बाहिर छ,’ उनले भने ।