काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।
स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।