काठमाडौं - सेक्युरिटी प्रेस खरिद, आयल निगमको जग्गा खरिद, रेलवेको जग्गा टेन्डर प्रकरण यी सबै काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौनता साँधेको छ । कतिसम्म भने ठूला भ्रष्टाचार काण्डलाई अख्तियारले तामेलीमा राखेको छ । यस्तै, तामेलीमा राखेकोमध्ये आयल निगमको जग्गा खरिद प्रकरण पनि हो । जसमा एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राखिएको छ ।
प्रधानमन्त्री केपी ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म देखिएको छैन ।वाइडबडी खरिद, सेक्युरिटी प्रेस खरिद, आयल निगमको जग्गा खरिद, रेलवेको जग्गा टेन्डर प्रकरण, सरकारी जग्गा यति र ओम्नी समूहलाई दिने निर्णयलगायतमा ठूला भ्रष्टाचारका काण्ड भएका छन् ।
अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले जाँदाजाँदै यस्तो निर्णय गराएका हुन् । जग्गा खरिदमा पूर्वसचिव प्रेमकुमार राई पनि मुछिएका छन् । तर, उनलाई उन्मुक्ति दिने गरी मुद्दा तामेलीमा राखिएको बताइन्छ ।
राई पूर्वएमाले निकट कर्मचारी हुन् । लामो समयदेखि गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले काम गरिसकेका छन् । राई अहिले अख्तियारमा प्रमुख आयुक्त वा आयुक्तका दाबेदार हुन् ।
राईलाई अख्तियारमा आयुक्त बनाउन प्रधानमन्त्री केपी ओलीले नै चासो देखाएका छन् । सोही कारण पनि उनी संलग्न रहेको भ्रष्टाचार काण्डलाई तामेलीमा राखिएको स्रोतले बताएको छ ।